सोमबार राति अमृतसरका पाँच गाउँमा घरेलु रूपमा उत्पादन गरिएको रक्सी सेवनपछि स्थानीयहरू एकपछि अर्को बिरामी पर्न थालेका थिए। प्रारम्भिक जाँच अनुसार रक्सीमा प्राणघातक रसायन मेथानोल मिसाइएको आशंका गरिएको छ।
प्राय: गरिब तथा निम्न आय वर्गका मानिसहरूले सस्तोमा उपलब्ध हुने घरेलु रक्सी सेवन गर्ने गर्छन्। तर, यसलाई अझ बलियो बनाउने नाममा मिसाइने मेथानोल जस्ता विषाक्त तत्वहरूले वर्षेनी सयौंको ज्यान लिने गरेको छ। मेथानोलले दृष्टि गुम्नेदेखि कलेजो फेल हुने र अन्ततः मृत्यु समेत निम्त्याउने गर्छ।
जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहले २१ जनाको ज्यान गएको पुष्टि गर्दै हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिए।
पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत घटनाको छानबिन तीव्र रूपमा भइरहेको उल्लेख गर्दै, दोषी जोकोही भए पनि कारबाहीको कठघरामा ल्याइने स्पष्ट संकेत दिएको छ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने र कानूनी दायरामा ल्याएर कडा सजाय दिइने चेतावनी दिएका छन् ।