विद्यालयबाट सन् २०८० पुस २२ गते राति चोरी भएका ११ ल्यापटपमध्ये ८ वटा मंगलबार फाकुम्बाकै पित्तोलुङ नजिकको ओडारमा भेटिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो।
यसअघि तीन महिनापछि फेला परेका तीन ल्यापटप भने फ्याकिएको अवस्थामा घोडेचौर भन्ने स्थानमा भेटिएको थियो। बाँकी आठवटा ल्यापटप भने निरन्तर खोजीपछि हालसालै मात्र जंगलभित्रको ओडारमा फेला परेको हो।
विद्यालयका प्रधानाध्यापक गोपाल ठाकुरलाई ओडारमा ल्यापटप भेटिएको जानकारी आएपछि प्रहरी, स्थानीय जनप्रतिनिधि र विद्यालयका प्रतिनिधिसहितको टोलीले उक्त स्थान पुगेर ल्यापटप बरामद गरेको हो।
प्लास्टिकको बोराभित्र खाद्यान्न जस्तो गरी पोको पारेर राखिएका ल्यापटपहरू अवस्था हेर्दा साबुत देखिए पनि ती प्रयोगयोग्य छन् वा छैनन् भन्ने यकिन भइनसकेको शिक्षक शान्ता आङ्बुहाङले बताउनुभयो।
हाल फेला परेका सबै ल्यापटप प्रहरी चौकी साँघुमा राखिएको छ। यसअघि फेला परेका तीन ल्यापटप पनि जिल्ला प्रहरी कार्यालयमै रहेको र ती अझै फरेन्सिक परीक्षणका लागि नपठाइएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइँका अनुसार विद्यालयले आधिकारिक रूपमा चोरीसम्बन्धी उजुरी नदिएकाले मुद्दा दर्ता नभएको र त्यसैले ल्यापटप परीक्षणका लागि अघि बढ्न नसकेको हो।
उता, गाउँपालिका अध्यक्ष वनेमले विद्यालय जस्तो पवित्र स्थलमा आपराधिक गतिविधि हुनु लाजमर्दो विषय भएको र दोषीलाई संरक्षण नहुने गरी गहिरो अनुसन्धान गर्न प्रशासन र प्रहरीलाई आग्रह गर्नुभएको छ।
एचपिएफ (ह्युमन प्राक्टिस फाउण्डेसन) मार्फत प्राप्त ती ल्यापटपहरू आइसिटी कक्षा सञ्चालनका लागि प्रयोग हुँदै आएका थिए। चोरीका कारण विद्यालयको सूचना प्रविधि शिक्षा प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ।