बुटवल, जेठ १३ – बुटवल उपमहानगरपालिका-११ स्थित होराइजन चोकको मिलिजुली पथमा एकै परिवारका आमासहित दुई बालिकाको विभत्स हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार मृतकमा ३३ वर्षीया दिपा बस्याल, उनकी ७ वर्षीया छोरी स्नेहा बस्याल र ४ वर्षीया छोरी हिमानी बस्याल रहेका छन्। घटना आज (सोमबार) बिहान करिब ४ बजेतिर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रवक्ता कार्कीले घटनाको प्रकृति निकै जघन्य रहेको भन्दै विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो। घटनास्थलमा प्रहरीको टोली परिचालित गरिएको छ भने शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
घटनाको थप विवरण र हत्याको कारणबारे अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।





