रामेछाप, जेठ ८ — रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित चार घरे जंगलमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रदेश–३–०३–००२ झ. ५८०३ नम्बरको एम्बुलेन्स दोरम्बा शैलुङ गाउँपालिका–२ बाट शव र यात्रुहरू बोकेर काठमाडौँ जाँदै थियो। एम्बुलेन्समा एक जना प्रहरी जवानसहित पाँच जना सवार थिए।
इलाका प्रहरी कार्यालय चोप्राङ रामेछापका प्रहरी सहायक निरीक्षक गणेश देवकोटाका अनुसार, चार घरे जंगलमा केही समय रोकिएको एम्बुलेन्स पुनः यात्रा थाल्ने क्रममा अचानक अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ। एम्बुलेन्सका चालक सामान्य घाइते भएका छन् भने सवार प्रहरी जवान सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।