सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण सबै एकै दिन — वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई बुद्धजयन्तीका रूपमा विशेष महत्वसाथ मनाइन्छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध, नमोबुद्धजस्ता पवित्र स्थलहरूमा विशेष पूजा, ध्यान कार्यक्रम, धार्मिक जुलुस र प्रवचनहरू आयोजना गरिएको छ।
सरकारले आम नागरिकलाई घरघरमा दीपावली गरेर शान्ति र सहिष्णुताको सन्देश फैलाउन आह्वान गरेको छ। साथै, गुम्बा, विहार, चैत्यलगायत स्थानहरूमा लामाहरू र बौद्ध गुरुहरूले परम्परागत विधिअनुसार पूजापाठ र धर्मोपदेश गरिरहेका छन्।
ईसा पूर्व ५६३ मा रुपन्देहीको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा सांसारिक मोह त्यागेर तपस्याको बाटो रोजेका थिए। उनले ज्ञान प्राप्त गरेपछि ‘बुद्ध’ को उपाधि पाएका थिए र आजीवन मानवता, अहिंसा, सहिष्णुता र करुणाको सन्देश दिए।
"अहिंसा नै शान्ति र मैत्रीको आधार हो" भन्ने बुद्धको अमर सन्देशलाई आत्मसात् गर्दै आजको दिन विश्वभर शान्ति, सहिष्णुता र मानवताको भावनासहित बुद्धजयन्ती मनाइँदैछ।
त्यस्तै किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले आज परम्परागत उभौली पर्व श्रद्धा, संस्कार र सामूहिक उत्सवका साथ मनाउँदै छन्। वैशाख शुक्ल पूर्णिमाको अवसरमा मनाइने यो पर्व किराँत समुदायको प्रकृति प्रतिको आस्था, जीवनशैली र मौलिक संस्कृतिसँग जोडिएको महत्वपूर्ण चाड हो।
उभौली पर्वलाई किराँत समुदायले बाली लगाउनुअघि भूमिपूजन गर्ने र प्रकृतिको आभार प्रकट गर्ने पर्वका रूपमा मनाउँदै आएका छन्। गाउँगाउँमा रहेको भूमेस्थानमा सामूहिक पूजा, प्रसाद चढाउने, पुर्खाको सम्झना गर्ने र वर्षभरि कृषि समृद्धि होस् भन्ने कामना गरिन्छ।
प्रकृति अनुरूपको जीवनशैलीमा आधारित किराँत समुदायका लागि उभौली केवल पर्व मात्र नभई मौसम, कृषि र समुदायबीचको गहिरो सम्बन्धको प्रतीक हो। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उँधो लागेर जाडो छल्न बेँसी झरेका मानिसहरू आजदेखि पुनः उँभो, अर्थात् लेकतर्फ लाग्ने परम्पराको पनि संकेत यो पर्वले गर्छ।
यस पर्वमा सामूहिक साकेला नाच, चण्डी नाच जस्ता सांस्कृतिक कार्यक्रमहरू गरी सामूहिक उत्सव मनाइन्छ। किराँत धर्मका विभिन्न सम्प्रदायहरूले आ–आफ्नो परम्परा अनुसार पूजाआजा र सांस्कृतिक प्रस्तुति गरी प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन्।
उभौली पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई सम्मान गर्ने, समृद्धिको कामना गर्ने र सामुदायिक एकता झल्काउने किराँत सभ्यताको मौलिक पक्षलाई उजागर गर्ने कार्य गर्दछ।