Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अंग्रेजी आवासीय माविद्वारा समुदाय सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न



पोखरा, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा मेरिगोल्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालय, पोखरा–१५ ले समुदायस्तरमा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

वातावरण संरक्षण, स्वच्छ समुदाय निर्माण तथा नागरिकमा वातावरणप्रति जिम्मेवारीको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत पोखरा–१५ को विभिन्न क्षेत्र परिक्रमा गर्दै सडक र्‍यालीसहित वातावरण संरक्षणसम्बन्धी सचेतना फैलाइएको थियो।

विद्यार्थीहरूले वातावरण जोगाऔँ, प्लास्टिकजन्य फोहोर न्यूनीकरण गरौँ, हरियाली प्रवर्द्धन गरौँ, स्वच्छ वातावरण स्वस्थ जीवनको आधार हो लगायतका सन्देश लेखिएका प्लेकार्ड र पम्प्लेट बोकेर समुदायमा जनचेतना फैलाएका थिए। र्‍यालीका क्रममा स्थानीय बासिन्दालाई वातावरण संरक्षणका उपाय, फोहोर व्यवस्थापनको महत्व तथा सरसफाइको आवश्यकता सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो।

सचेतनामूलक र्‍यालीपछि विद्यालय र आसपासका सार्वजनिक क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीहरूले सडक, सार्वजनिक स्थल तथा समुदायका विभिन्न स्थानमा रहेका फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए। कार्यक्रममा स्थानीयवासीहरूको समेत सकारात्मक साथ र सहयोग रहेको विद्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्राचार्य शर्मिला गुरुङले वातावरण संरक्षण आजको विश्वव्यापी आवश्यकता भएको बताइन्। उनले वातावरणीय समस्या केवल सरकार वा कुनै एक निकायको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरिन्।

“हामीले प्रकृतिबाट धेरै कुरा लिएका छौँ, अब प्रकृतिलाई जोगाउने जिम्मेवारी पनि हाम्रो हो,” प्राचार्य गुरुङले भनिन्, “विद्यार्थीहरूलाई सानै उमेरदेखि वातावरणप्रति सचेत र जिम्मेवार नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुन्छन्। विद्यालयले शिक्षा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ।”

उनले स्वच्छ वातावरणले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै वातावरण संरक्षणका अभियानलाई निरन्तरता दिन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

विद्यालयले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक शिक्षा प्रदान गर्नुका साथै समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्। विद्यालयले आगामी दिनहरूमा पनि वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ

Top Post Ad

post bottom ads

Ads Bottom