पोखरा महानगरपालिका–१५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको भाषिक क्षमता, सिर्जनशीलता तथा नेपाली भाषाप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यालय प्राचार्य शर्मिला गुरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले समूहगत रूपमा नेपाली शब्द निर्माण, शब्द पहिचान तथा भाषिक खेलमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा आरधना जि.टी., प्रशिस शाक्य, सम्बृद्धी भुजेल र स्वस्तिका भुजेलको समूह प्रथम हुन सफल भएको थियो। त्यसैगरी राशिका सुनार, कृष क्षेत्री, सिर्जन सुवेदी र बेन्सा गुरुङको समूहले द्वितीय स्थान हासिल गरेको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै प्राचार्य शर्मिला गुरुङले विद्यार्थीहरूमा सानैदेखि नेपाली भाषाप्रति प्रेम, सिर्जनशील सोच तथा समूहमा सहकार्य गर्ने संस्कार विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले विद्यालयले पाठ्यपुस्तकमा मात्र सीमित नभई विद्यार्थीको व्यवहारिक ज्ञान, आत्मविश्वास र प्रतिभा विकासलाई प्राथमिकतामा राखेर विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको उल्लेख गरिन्।
कार्यक्रमका सहजिकर्ता डिआर काफ्ले ले शब्दखेलले विद्यार्थीहरूको स्मरण शक्ति, भाषिक दक्षता तथा सिकाइ क्षमतालाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गरे। उनले बालबालिकालाई मनोरञ्जनात्मक माध्यमबाट सिकाइ प्रक्रियामा सहभागी गराउँदा उनीहरूको रुचि र सक्रियता अझ बढ्ने बताए।





