काठमाडौं, जेठ १९ — आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यसहित अवेक नेपालले ‘अवेक शिक्षा छात्रवृत्ति कार्यक्रम २०८३’ घोषणा गरेको छ।
संस्थाले सार्वजनिक गरेको कार्यक्रमअन्तर्गत यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका ८३ जनाभन्दा बढी विद्यार्थीहरूलाई कक्षा ११ र १२ (+२) अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाएको छ। छात्रवृत्तिमार्फत विद्यार्थीहरूले काठमाडौं र चितवनका विभिन्न कलेजहरूमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको अवेक नेपालले जनाएको छ।
अवेक नेपालका अनुसार आर्थिक अभावका कारण कुनै पनि प्रतिभाशाली तथा अध्ययनशील विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो। संस्थाले यस अभियानमार्फत आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ।
संस्थाका प्रतिनिधिहरूले शिक्षा व्यक्तिको व्यक्तिगत विकासका साथै समाज रूपान्तरणको महत्वपूर्ण आधार भएकाले शिक्षामा लगानी गर्नु भविष्य निर्माणमा लगानी गर्नु सरह भएको बताएका छन्। छात्रवृत्ति कार्यक्रमले ठूलो सपना बोकेका तर आर्थिक कठिनाइका कारण उच्च शिक्षा हासिल गर्न संघर्ष गरिरहेका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई उल्लेखनीय राहत पुग्ने विश्वास पनि संस्थाले व्यक्त गरेको छ।
अवेक नेपालले योग्य तथा इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ। छात्रवृत्तिका लागि आवेदन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिने जनाइएको छ।
संस्थाले आवेदन लिंकमार्फत आवश्यक विवरण भरेर निर्धारित समयभित्र आवेदन दिन अनुरोध गरेको छ।





