मिक्लाजुङ गाउँपालिका–२ सप्तमीस्थित सौर्य ऊर्जा मिनिग्रिड विद्युत् कार्यालयमा कार्यरत ४१ वर्षीय चन्द्र मगर (झलेन्द्र) बुधबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरिए पनि घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय रवीले जनाएको छ।
मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार सेर्माले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि रवी प्रहरी चौकीबाट टोली खटिएको थियो। घटना स्थल प्रहरी चौकीबाट करिब ७ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि रवी आधारभूत अस्पताल पठाएको छ। शव हाल अस्पतालको शवगृहमा राखिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, उच्च जोखिमयुक्त विद्युत् मर्मत कार्यमा आवश्यक सुरक्षा सावधानी नअपनाउँदा दुर्घटना भएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।