काठमाडौं, असार ९ गते । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ टुसालमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
जिल्ला बारा, निजगढ नगरपालिका–८ का ३२ वर्षीय कृष्ण लामालाई टुसालस्थित विकास लामा लोको घरमा जन्मदिनको कार्यक्रमका क्रममा कुटपिट गरी हत्या गरिएको अभियोगमा सोही ठाउँ बस्ने विकास लामा लो, बारा निजगढ नगरपालिका–७ का २९ वर्षीय सुगन्द लामा, बुढानिलकण्ठ–५ का १८ वर्षीय सौगात क्षेत्री र मकवानपुर बकैया गाउँपालिका–२ का २३ वर्षीय निसान जिम्भालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार मृतक कृष्ण लामा विकास लामा लोको बहिनीको जन्मदिनमा सहभागी हुन गएका थिए । त्यही क्रममा उनीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप अनुमति लिइएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





