गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी हुँदै बुटवलतर्फ जाँदै गरेको एक माइक्रोबस चेकजाँच गर्दा उनीहरूलाई सुनका गरगहना सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत, पञ्जाब अमृतसर–१ न्यु प्रतापनगरका ४९ वर्षीय कुलदीप सिंह र रुपन्देही, तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक रहेका छन्। उनीहरूलाई बरामद गरगहनासहित थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट ८२ तोला १६ लाल सुनका विभिन्न प्रकारका गरगहना फेला परेका छन्। जसमा सिक्री २९ थान, दानावाला माला १ थान, हिरा र पत्थर जडित औंठी ५७ थान, कानका झुम्का ३२४ थान, मंगलसुत्र १७ थान, लकेट ९९ थान, कालो र रातो पोते १९ थान लगायतका विभिन्न प्रकारका गरगहना रहेका छन्। बरामद सामानको कुल तौल ९५७.९८ ग्राम रहेको छ।
बरामद गरगहनाको बजार मूल्य करिब १ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
पूर्व योजना अनुसार ल्याइएको सुन
प्रारम्भिक अनुसन्धानका क्रममा भारतका कुलदीप सिंह र नेपालका रामबहादुर विक बीच तीन वर्षदेखि फेसबुकमार्फत सम्पर्क रहेको खुलेको छ। दुवै जना सुनका गरगहना व्यापारमा संलग्न रहेका र भारतका विभिन्न स्थानहरू (उत्तर प्रदेश, गोरखपुर, बिहार, उडिसा, दिल्ली, हरियाणा) मा सुन बिक्री गर्दै आएका सिंहले नेपालमा पनि सुन विक्री गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।
कुलदीप सिंहले अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट उक्त गरगहना संकलन गरी नेपाल भित्र्याएको र रामबहादुर विकलाई पनि बिक्रीपछि मुनाफाको केही अंश दिने प्रलोभनमा साथ लिएर पोखरा आएको स्वीकार गरेका छन्।
प्रहरीले बरामद सुन तथा अभियुक्त दुवैजनालाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले सुन तस्करीको शृङ्खला नेपालभित्र सञ्चालन हुन सक्ने आशङ्कामा थप अनुसन्धान गरिरहेको जनाएको छ।