Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई वडाध्यक्षमाथि आक्रमण, एकको अवस्था गम्भीर


जुम्ला, जेठ २० – कर्णाली प्रदेशअन्तर्गत जुम्लाको तिला गाउँपालिकामा दुई जना वडाध्यक्षमाथि चक्कु र ढुङ्गा प्रहार भएको छ। आक्रमणमा परेका मध्ये एकजना गम्भीर घाइते भएका छन्।



तिला गाउँपालिका–५ का ४२ वर्षीय वडाध्यक्ष ललितबहादुर शाहीमाथि आइतबार सामूहिक रूपमा चक्कु प्रहार गरिएको हो। वडा नं. ४ मा विकास आयोजनाको अनुगमन सकेर घर फर्किने क्रममा शाहीमाथि हमला भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।


पीडित शाहीले तिला–३ का लक्की बुढा, तिला–४ का सुधन शाही र सुशील शाहीले चक्कु प्रहार गरेको आरोप लगाएका छन्। "घर फर्किँदै थियौँ, एक्कासि चक्कु प्रहार भयो," उनले भने, "ज्यान मार्ने उद्योगमा जाहेरी दिने तयारीमा छु।"


शरीरको पछाडिको भागमा गहिरो चोट लागेका वडाध्यक्ष शाहीलाई १७ वटा टाँका लगाइएको छ। उनको हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।



त्यसैगरी, तिला गाउँपालिका–३ का ३८ वर्षीय वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको छ। हेल्मेट लगाएको कारण उनी गम्भीर चोटबाट जोगिएको बताइएको छ। "उनीहरूको नियत नै ज्यान लिनु थियो," उनले भने।



घटनापछि प्रहरीले एक जना आक्रमणकारीलाई जुम्ला बसपार्कबाट पक्राउ गरेको छ भने अन्यको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक असीम हमालले जानकारी दिनुभयो। हालसम्म पक्राउ परेकाको नाम भने सार्वजनिक गरिएको छैन।


जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीका अनुसार घटनाबारे जाहेरी परेका छन् र अनुसन्धान प्रक्रियामा छ।


घाइते वडाध्यक्ष ललित शाहीलाई भेट्न तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा अस्पताल पुगेका छन्। उनीहरूले दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom