कपिलवस्तु, जेठ २० – कपिलवस्तु नगरपालिकामा सञ्चालित दुई पेट्रोल पम्प परिमाणभन्दा कम पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि सिलबन्दी गरिएको छ।
सिलबन्दीमा परेका पम्पहरूमा वडा नं. २ स्थित उमा ट्रेडिङ र वडा नं. ४ गोपालपुरस्थित ओझा फिलिङ सेन्टर रहेका छन्।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेका अनुसार, तौलिहवा क्षेत्रका चार वटा पेट्रोल पम्पमा गरिएको अनुगमनका क्रममा दुई पम्पमा परिमाणभन्दा कम इन्धन विक्री गरेको भेटिएको हो।
"गुनासोका आधारमा गरिएको अनुगमनमा दुई पम्पमा मापदण्ड विपरीत इन्धन विक्री भएको देखिएपछि सिलबन्दी गरिएको हो," उनले बताए।
सिलबन्दी गरिएका दुबै पम्पका धनीलाई तीन दिनभित्र गुणस्तर तथा नापतौल विभाग, बुटवल कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। सहायक प्रजिअ लामिछानेका अनुसार गुणस्तर तथा नापतौल ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
उक्त अनुगमन तथा सिलबन्दी प्रक्रिया गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक नीराजन पुडासैनीको नेतृत्वमा गरिएको थियो।





