डोटी, जेठ १७ – केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाबाट दिपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका गगुडा निवासी ४२ वर्षीय मीन बमलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा जिप चालकसहित आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।