पोखरा, जेठ १९ – सार्वजनिक यातायात बन्दका कारण गन्तव्यमा जान नपाएर पोखरामा अलपत्र परेका ५६४ यात्रुहरूलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ पठाएको छ।
प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतको कमाण्डमा रहेको जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण, कालिकाबाट खटिएको प्रहरी निरीक्षक रमेश कंडेलको नेतृत्वमा संयुक्त टोलीले सोमबार बिहान १०:१५ बजेको समयमा आवश्यक सुरक्षा व्यवस्था गर्दै यात्रुहरूको सहजिकरण गरेको हो।
पोखरा महानगरपालिका–७ स्थित पर्यटक बसपार्कबाट काठमाडौँका लागि १४ वटा तथा नारायणगढका लागि ३ वटा गरी कुल १७ वटा सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
सार्वजनिक यातायात बन्दका कारण यात्रामा समस्या भोगिरहेका सर्वसाधारणलाई लक्षित गर्दै गरिएको उक्त सुरक्षात्मक पहलप्रति यात्रुहरूले प्रहरी प्रशासनप्रति आभार व्यक्त गरेका छन्।





