पोखरा जेठ २७ ।
देशभर मनसुन सुरु भएसँगै डेङ्गी संक्रमण फैलिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यो वर्ष जनवरी १ देखि जुन ८ गतेसम्म १ हजार २ सय ५५ जना डेङ्गी संक्रमित फेला परेका छन्।
देशभर ७२ वटा जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएको छ।
ईडीसीडीको विवरणअनुसार काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गीको जोखिम अझै कायम रहेको जानकारी दिनुभयो। उहाँका अनुसार डेङ्गी रोगलाई शून्यमा झार्ने तथा लामखुट्टे पूर्ण रूपमा सखाप पार्ने अवस्था नभए पनि संक्रमण र मृत्युदर घटाउन सकिने छ। त्यसका लागि सबै तह र निकायबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
“नागरिक, समुदाय, सरकारी तथा गैरसरकारी क्षेत्रको एकीकृत प्रयासबाट मात्र डेङ्गी नियन्त्रण गर्न सकिन्छ,” डा. दाहालले भन्नुभयो। उहाँले मनसुन समयमै सुरु भएको र मौसमविद्हरूले धेरै पानी पर्ने अनुमान गरेका कारण संक्रमणको जोखिम उच्च रहेको औँल्याउनुभयो।
“पानी धेरै पर्ने अनुमान भएकाले डबकामा पानी जम्ने, लामखुट्टे बढ्ने सम्भावना उच्च छ। त्यसैले सचेत रहनुपर्छ,” उहाँले भन्नुभयो।
डा. दाहालका अनुसार तीनै तहका सरकार, विभिन्न संस्था र सर्वसाधारण मिलेर सघाएमा डेङ्गी संक्रमण र मृत्युदर दुबै घटाउन सकिन्छ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। लामखुट्टेको टोकाइबाट बच्नु नै यसबाट जोगिने प्रमुख उपाय हो।
विशेषज्ञहरूको सुझाव अनुसार डेङ्गीबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरू यस्ता छन् :
-
पुरै शरीर ढाक्ने कपडा लगाउने
-
घर तथा कार्यालय वरपर पानी जम्न नदिने
-
खाल्डाखुल्डी पुर्ने
-
खानेपानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिन राम्रोसँग छोप्ने
-
सुत्ने बेलामा झुल प्रयोग गर्ने
-
फालिएका भाँडाकुँडा, सिसी, प्लास्टिकजन्य वस्तुहरू हटाउने
-
सार्वजनिक स्थलहरूमा सरसफाइ गर्ने
स्वास्थ्य मन्त्रालयले डेङ्गीको जोखिम घटाउन सबै नागरिकलाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।