Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा–कास्कीमा लिफ्टीङ खानेपानी योजनाका लागि १ करोड ३३ लाख अनुदान, ३५ हजारभन्दा बढी लाभान्वित


स्याङ्जा, साउन ३ – डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाले चालू आर्थिक वर्ष २०८१/८२ मा स्याङ्जा र कास्की जिल्लाका लिफ्टीङ खानेपानी योजनाहरूलाई विद्युत महशुलमा अनुदान स्वरूप १ करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ वितरण गरेको छ।

प्रदेश सरकारको नीतिअनुसार लिफ्टीङ योजनामा लाग्ने विद्युत खर्चमा राहतस्वरूप अनुदान दिइँदै आएको हो। सोही अनुसार, कार्यालयले आफ्ना मातहतका १६९ योजनामा सो अनुदान वितरण गरेको जनाएको छ। स्याङ्जाका १३३ योजनाले ८६ लाख ७८ हजार ८४ रुपियाँ तथा कास्कीका ३६ योजनाले ४६ लाख ८६ हजार ५७२ रुपियाँ प्राप्त गरेका छन्। यी योजनाहरूबाट स्याङ्जाका २१ हजार ९६४ र कास्कीका १३ हजार ८०८ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्, जसको कुल संख्या ३५ हजार ७७२ पुग्छ।

कार्यालय प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिँदै, मासिक २५ हजार रुपियाँसम्मको विद्युत खपत गर्ने योजनामा शतप्रतिशत अनुदान दिइएको उल्लेख गर्नुभयो।

त्यसैगरी, खपतको मात्रा अनुसार अनुदान दर फरक–फरक तय गरिएको छ।

  • २५ हजारदेखि ४० हजार रुपियाँसम्म खपत गर्ने योजनालाई ७५ प्रतिशत,

  • ४० हजारदेखि ६० हजारसम्म खपतमा ५० प्रतिशत,

  • ६० हजारदेखि ८० हजारसम्म विद्युत उपयोग हुने योजनामा २५ प्रतिशत

  • ८० हजारभन्दा बढी विद्युत प्रयोग भएमा १० प्रतिशतसम्मको अनुदान दिइएको छ।

तीन स्टेज वा सोभन्दा बढी स्टेज भएका योजनाहरूका हकमा अनुदान दर अझ फरक बनाइएको छ।

  • ४० हजारसम्म विद्युत खपतमा ९० प्रतिशत,

  • ६० हजारसम्ममा ६५ प्रतिशत,

  • ८० हजारसम्ममा ४० प्रतिशत

  • ८० हजारभन्दा बढीमा १५ प्रतिशत अनुदान उपलब्ध गराइएको हो।

हाल स्याङ्जा जिल्लामा डिभिजन कार्यालय मातहत २४७ खानेपानी योजनाहरू सञ्चालनमा छन्, जसमध्ये १० वटा योजना पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेका छन्। इन्जिनियर कमल बरालका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,५८६ धारा निर्माण कार्य सम्पन्न भई ८,०८९ व्यक्तिलाई सेवा प्रदान गरिएको छ।

प्रदेश सरकार बनेयता १६१ वटा खानेपानी योजना पूर्णरूपमा सम्पन्न भई २३ हजार ४३ घरमा धारा जडान गरिएको छ। ती योजनाबाट एक लाख १७ हजार ५१७ जिल्लाबासी प्रत्यक्ष लाभान्वित भएका छन्। चालू आवमा ९५ प्रतिशत वित्तीय प्रगति गर्दै २३ करोड ३ लाख ४६ हजार रुपियाँ खर्च गरेको खबर छ।

Top Post Ad

post bottom ads

Ads Bottom