काठमाडौं, साउन ३ गते । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा हालसम्मकै उच्चतम रेकर्ड कायम भएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै श्रम स्वीकृति हो।
श्रम स्वीकृति लिनेमा ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला रहेको वैदेशिक रोजगार विभागले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार, श्रम स्वीकृति लिनेमा ६० प्रतिशत नयाँ र ४० प्रतिशतले पुनः श्रम स्वीकृति लिएका छन्।
स्वीकृति लिनेहरू मध्ये:
-
३ लाख ५९ हजार ६७५ जनाले संस्थागत रूपमा
-
१ लाख ३३ हजार ६२७ जनाले व्यक्तिगत नयाँ श्रम स्वीकृति
-
३ लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति
-
र १२ हजार ६५३ जनाले जिटुजी प्रणाली (दक्षिण कोरिया, इजरायल, बेलायत) मार्फत श्रम स्वीकृति लिएका हुन्।
पछिल्लो वर्षमा श्रम स्वीकृति लिने नेपालीको प्रमुख गन्तव्य देशहरूमा संयुक्त अरब इमिरेट्स (UAE), साउदी अरब, कतार, कुवेत, मलेसिया, जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, र बहराइन रहेका छन्।
गएको वर्षमा औसतमा महिनामा ६९ हजार ९३९ जना र प्रतिदिन २,३०० जना नेपालीले श्रम स्वीकृति लिएका थिए। मङ्सिर महिनामा सबैभन्दा धेरै श्रमिकले स्वीकृति लिएको विभागले जनाएको छ।
महानिर्देशक भट्टराईले पत्रकार सम्मेलनमा अब विभागले केवल दुई मिनेटमा श्रम स्वीकृति दिन सफल भएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “यदि निवेदकले सबै आवश्यक कागजातहरू पूर्ण रूपमा बुझाएको छ भने, आवेदन आएको दुई मिनेटभित्रै श्रम स्वीकृति दिइन्छ।”
यसअघि श्रम स्वीकृति लिन एक हप्ता लाग्ने गरेकोमा हाल विभागले प्रक्रियामा प्रविधिसँगै पारदर्शिता र गती ल्याएको बताइएको छ।
श्रम स्वीकृति प्रक्रियालाई बिचौलियामुक्त बनाउन विभागले विभिन्न सुधारात्मक कदमहरू चालेको समेत महानिर्देशक भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार, अब सेवाग्राही स्वयंले सेवा लिन सक्ने वातावरण तयार पारिएको छ र बिचका व्यक्तिहरूलाई प्रवेशद्वारमै रोकिएको दाबी गरिएको छ।
विभागको तथ्यांकअनुसार, पछिल्लो ५ वर्षमा ३५ लाख १६ हजार ९६५ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
जसमा ३१ लाख ८१ हजार १९१ पुरुष र ३ लाख ३५ हजार ७७४ महिला रहेका छन्।