Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जना पक्राउ


नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार केही किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाका आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न दुई जनालाई पक्राउ गरेको हो ।


दुप्चेश्वर गाउँपालिका-६ स्थित रामती बजारमा यही मङ्गलबार किनमेल गर्न नक्कली नोट बोकेर हिँडेका ती किशोरहरूसँग गरिएको अनुसन्धानका क्रममा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा दुप्चेश्वर-७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । प्रहरीको अनुसार उनीहरूले एक हजार दरका नक्कली नोट बनाएर बच्चा र गाउँमा चलनचल्तीमार्फत प्रयोगमा ल्याउने गरेको पाइएको छ ।


बजारमा सामाग्री खरिद गर्न आएका बालकहरूको साथबाट रु एक हजार दरका ६९ थान र पक्राउ परेका व्यक्तिको घरमा खोजतलास गर्दा थप २४ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । “उनीहरूले लामो समयदेखि नक्कली नोट बनाएर प्रयोगमा ल्याउने गरेको पाइएको छ”, प्रहरी नायब उपरीक्षक लामाले भन्नुभयो, “संलग्न अन्य व्यक्ति र प्रयोग भएका उपकरणको खोजी भइरहेको छ ।”


पक्राउ परेकालाई प्रहरीले आज जिल्ला अदालत नुवाकोटबाट ‘खोटा मुद्रासम्बन्धी कसुर’मा कारबाहीका लागि अनुसन्धान गर्न सात दिनको म्याद लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom