![]() |
फाइल तस्विर |
जिल्ला सुरक्षा समितिको मङ्गलबार बसेको बैठकले साउन ४ गते साँझ ५ बजेदेखि साउन ५ गते बिहान ५ बजेसम्म सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा खण्ड र जिल्लाभित्रका सहायक सडकमार्गहरूमा सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको हो। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
बैठकले मौसम पूर्वानुमान महाशाखाबाट साउन ५ गते बिहानसम्म पनि भारी वर्षाको सम्भावना औंल्याइएको भन्दै सो अवधिमा सवारी दुर्घटना र अन्य जोखिम न्यूनिकरणका लागि सावधानी अपनाउनु आवश्यक रहेको निष्कर्ष निकालेको छ।
सवारी साधन चलाउनै पर्ने अत्यावश्यक अवस्थामा भने नजिकको सुरक्षाकर्मी वा सम्बन्धित निकायसँग समन्वय गरी मात्रै सवारी सञ्चालन गर्न अनुमति दिइने बताइएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कास्की र पाल्पा प्रशासन कार्यालयलाई समेत सूचना पठाउँदै आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।
पछिल्लो केही दिन यता स्याङ्जा र आसपासका क्षेत्रमा निरन्तर वर्षा भईरहेको छ भने पहिरो र सडक अबरुद्ध हुने सम्भावनाले जोखिम बढेको स्थानीय प्रशासनले जनाएको छ।