Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरकारी लापरवाहीको नमूना: दुई व्यक्तिमा एउटै नागरिकता नम्बर

तस्विर : गोरखापत्र 

असार २९ गते, धनुषा —

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा दुई जना फरक व्यक्तिको नाम र नागरिकता नम्बर एकै भएको अचम्मको घटना सार्वजनिक भएको छ। दुबै जनाको नाम गणेशकुमार महतो हो र दुवैले प्रयोग गरिरहेको नागरिकता प्रमाणपत्रमा नम्बर १४६८२८८३ उल्लेख गरिएको छ।


यही एउटै नागरिकता नम्बरले गर्दा दुवै व्यक्तिको व्यक्तिगत, बैङ्किङ र सरकारी कागजातमा समस्या सिर्जना भएको छ।


पीडितहरू बटेश्वर गाउँपालिकाका भए पनि उनीहरूको वडाहरू फरक छन्। एक जना वडा नं. १, सोनापुर निवासी गणेशकुमार महतो रामगुलाम महतोका छोरा हुन्, जसले २०५७ फागुन ३० गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए। अर्का गणेश वडा नं. २, धुमासन निवासी हुन्, जसका पिता रामकिसुन महतो हुन्। उनले भने २०५६ माघ १३ गते सोही कार्यालयबाट नागरिकता लिएका थिए।


सोनापुरका गणेशकुमारले हालै एक बैङ्कमा खाता खोल्न खोज्दा यस समस्याको पहिलोपटक अनुभव गरेका हुन्। उनका अनुसार, बैङ्कले पहिले नै त्यसै नम्बरको नाममा खाता रहेको भन्दै नयाँ खाता खोल्न अस्वीकार गर्‍यो। सो खाता धुमासनका गणेशको रहेको खुल्यो, तर नागरिकता नम्बर भने फेरि एउटै।


“म विदेश गएको मान्छे हुँ, मेरो पासपोर्टदेखि सबै कानुनी कागजात यही नम्बरमा आधारित छन्,” गणेशकुमारले भने, “अब नागरिकता नम्बरमा फेरबदल गर्नुपर्‍यो भने मेरो सम्पूर्ण कागजात प्रभावित हुन्छन्।”


धुमासनका गणेशकुमार पनि सोही समस्याबाट पीडित छन्। “सरकारी सेवा र बैङ्किङ प्रक्रियामा नागरिकता नम्बर अनिवार्य बनाइएपछि मात्र यो गल्तीको पत्ता लाग्यो,” उनले भने, “कर्मचारीको लापरवाहीले हामी दुई जनाको जीवनमा अनावश्यक समस्या ल्याएको छ।”


यस विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले घटनाबारे दुबैको नागरिकता अभिलेख जाँचपछि मात्र यथार्थ खुल्ने बताए।


यो घटना सरकारी अभिलेख व्यवस्थापन प्रणालीमा देखिएको गम्भीर त्रुटिको उदाहरण हो, जसले दुई निर्दोष नागरिकलाई  अप्ठ्यारोमा पारेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom