महोत्तरीको गौशाला मालपोत कार्यालयमा एक मृतक व्यक्तिको नाममा जग्गा खरिदबिक्री भएको रहस्य खुलेपछि कार्यालयभित्रै भूमाफिया र कर्मचारीबीचको मिलेमतोको आरोप थप बलियो बनेको छ।
शिवभक्ति खोर २ (ख) स्थित कित्ता नम्बर १८३ मा रहेको ५ आना १२.५ धुर जग्गा मृतक महेश चौधरीका नाममा दर्ता थियो। कृषि प्रयोजनका लागि वर्गीकृत गरिएको सो जग्गाको पहुँच मार्गसमेत नभएको जनाइएको छ।
यस्तो अवस्थामा चौधरीको मृत्यु भइसकेको पुष्टि हुँदाहुँदै पनि गौशाला नगरपालिका–४ का वडाध्यक्ष रामनारायण महासेठले असार ६ गते जग्गा बिक्रीको सिफारिस गरेका थिए।
यसपछि असार ८ गते सो जग्गा सम्सी गाउँपालिका–४ का रञ्जित कुमार साहको नाममा ११ लाख ३५ हजार रुपैयाँमा नामसारी गरिएको देखिन्छ। तर, कानुनअनुसार यस्तो कारोबार बैङ्कमार्फत भुक्तानी गरी प्रमाणसहित मालपोतमा बुझाउनुपर्ने भए पनि यो लेनदेन नगदमा गरिएको थियो।
यस कारोबारमा विक्रेताको नागरिकता प्रमाणित नगरी, झूटा विवरण पेश गरी लेखापढी व्यवसायी र मालपोत कर्मचारी मिलेर किर्ते कागजात तयार पारेको प्रमाण भेटिएको छ।
गौशाला मालपोतका एक कर्मचारीका अनुसार महेश चौधरीको नाममा रहेको अन्य केही जग्गा जलेश्वर मालपोत कार्यालयमार्फत पनि बिक्री भएको थियो। तर, खरिदकर्ता र बिक्रेताबीच विवाद भएपछि गौशाला मालपोतले पछिल्लो कारोबारको नामसारी फिर्ता गरेको हो।
मालपोत कार्यालयका सूचना अधिकारी विष्णु कुमार महतका अनुसार असार ६, ८, र ९ गते गरिएको नामसारी प्रक्रिया किर्ते कागजात प्रयोग गरी गरिएको पुष्टि भएपछि असार १६ गते ती सबै जग्गा कारोबार रद्द गरिएको हो।
उनका अनुसार बिक्रेता हाल फरार छन् भने खरिदकर्तासँग समन्वय गरेर जग्गा फेरि मृतक महेश चौधरीकै नाममा फिर्ता गरिएको छ।