साउन १ गते, दोलखा — दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाईड्रोपावरको बाटो सर्वेक्षणका क्रममा पहिरोमा परी गम्भीर घाइते भएका सब–ईन्जिनियर सुनिल न्यौपानेको मृत्यु भएको छ।
नुवाकोटको विदुर नगरपालिका–४ निवासी २९ वर्षीय न्यौपाने बुधबार दिउँसो विगु गाउँपालिका–१ को हुरहुरेमा पहिरोमा परेका थिए। उनलाई गम्भीर अवस्थामै उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो। उपचारका क्रममा साँझ करिब ७ बजे हेम्स अस्पताल, काठमाडौँमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
उक्त पहिरोमा परी सानिमा हाईड्रोपावरमा कार्यरत अन्य दुई जना कर्मचारी पनि घाइते भएका छन्। घाइते हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ निवासी २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर निवासी २७ वर्षीय सन्दिप चौलागाईं रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्राकृतिक प्रकोपका कारण भएका घटनामा सुरक्षा सावधानी अपनाउन विज्ञहरूले जोड दिँदै आएका छन्।