साउन १ गते, नवलपुर — कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस खैरेनीस्थित सडक खण्डमा एक आपसमा ठोक्किएको हो।
दुर्घटनामा परी कार चालक तनहुँ भिमाद नगरपालिका–६ निवासी २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंगबहादुर राना र तनहुँ ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।
घाइतेहरूको पाल्पाको रामपुर अस्पतालमा उपचार भइरहेको छ भने बस चालक पाल्पा रम्भा गाउँपालिका–१ का ३७ वर्षीय संजय प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।