नवलपुर, साउन १२ गते । नवलपुरमा मिटरब्याज र ठगी प्रकरणमा ठूलो खुलासा भएको छ। कावासोती नगरपालिका–२ इन्द्रचोकका होन्डा शो–रुम सञ्चालक ३९ वर्षीय अमृत भुसालसहित चारजनामाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा दायर गरेको हो।
मुद्दा दायर भएकामध्ये भुसालकी श्रीमती सविता काफ्ले, प्रमु बैंक (पूर्व सेन्चुरी विकास बैंक) चोरमारा शाखाका शाखा प्रमुख राजेश खरेल र लक्ष्मी सनराइज बैंक, चितवनकी कर्मचारी सविता अर्याल पनि छन्। उनीहरूलाई **मिटरब्याज, हस्ताक्षर कीर्ते, जालसाजी र ठगीको आरोपमा मुद्दा चलाइने** प्रहरीले जनाएको छ।
भुसालले मध्यविन्दु नगरपालिका–७ का रामप्रसाद महतोसँग ३६ लाख ऋण दिएर मिटरब्याज असुल्दै २ करोड रुपैयाँ ठगेको र जग्गासमेत हडपेको प्रमाण प्रहरीले पत्ता लगाएको छ। बैंक कर्मचारीहरूले चेकमा किर्ते हस्ताक्षर गरेर रकम निकाल्न सहयोग गरेको पनि अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो।
भुसाललाई गत साउन २७ गते पक्राउ गरिएको थियो। उनलाई जिल्ला अदालतले २४ दिनपछि हाजिरी जमानीमा छोडेको थियो। तर, थप प्रमाण संकलनपछि पूरक अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।