सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा देखिएको त्रुटिबारे अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ। प्रतिनिधिसभाको आज (असार २३) बसेको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा नियमावली अनुसार गठित समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार रहेका छन् । अन्य सदस्यहरूमा कांग्रेसकी सुशीला थिङ, नेकपा एमालेका नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राप्रपाका रोशन कार्की रहेका छन्।
समितिले राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन र मूल विधेयकको सैद्धान्तिक सहमति, छलफल तथा विद्युतीय अभिलेखहरू (अडियो/भिडियो) सँग मेल नखाने गरी प्रतिवेदनमा 'कुलिङ अफ पिरियड' सम्बन्धी व्यवस्था समावेश भएको विषयमा अध्ययन तथा छानबिन गर्नेछ।
यसैगरी, विधेयक लेखन तथा प्रतिवेदन तयारीका क्रममा देखिएको कानुनी त्रुटि, प्रक्रिया विपरीतका गतिविधि र संलग्न पदाधिकारीहरूको जिम्मेवारी पनि यकिन गरी आवश्यक भए कानुनी कारबाही गर्नुपर्ने वा नगर्नुपर्ने विषयमा सुझाव दिने कार्यादेश समितिलाई दिइएको छ।
समितिले भविष्यमा यस्ता त्रुटि नदोहरिने गरी सावधानी र उपायहरूको सुझावसहितको प्रतिवेदन पनि तयार गर्नेछ। समितिले प्रचलित कानुनअन्तर्गत आफ्नै कार्यविधि बनाएर काम गर्नेछ र २१ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ।