नासो गाउँपालिका–८ ताचैकी ३१ वर्षीया गर्भवती टोमकाशी गुरुङको सुत्केरी हुन नसकेको अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। धारापानी स्वास्थ्य चौकीमा जाँच गर्दा पेटमा जुम्ल्याहा शिशु रहेकाले जोखिमपूर्ण अवस्था देखिएपछि उनलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको हो।
नासो गाउँपालिकाका स्वास्थ्य संयोजक तुलसीराम गुरुङका अनुसार एक्स–रेमा दुई बच्चा देखिएको र दुवैको तौल कम रहेकाले सर्जरी आवश्यक देखिएको थियो। दुर्गम क्षेत्र, वर्षा र अवरुद्ध बाटोको अवस्थालाई ध्यानमा राखी गण्डकी प्रदेशमार्फत संघीय सरकारमा जानकारी दिई हेलिकोप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो।
टोमकाशी गुरुङले काठमाण्डौंको थापाथली अस्पतालमा बिना सर्जरी नै जुम्ल्याहा छोरी जन्माएकी हुन्। नवजात शिशुहरूको तौल न्यून रहेकाले एनआइसियुमा राखी उपचार भइरहेको छ। आमा टोमकाशीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।
शिशुका बुवा भूपेन्द्र गुरुङका अनुसार थापाथली अस्पतालले त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि रेफर गरेको छ। दुर्गममा अझै पनि सुत्केरी महिलाहरूले जोखिम मोल्नुपर्ने अवस्था कायमै रहेको भन्दै उनले सुत्केरी सेवा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
गत जेठ १२ गते बसेको मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेशका १३ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेपनि सुविधा जनतासम्म पुग्न नसकेको स्थानीयको गुनासो छ। मनाङस्थित प्रदेश अस्पतालको शैया संख्या १५ बाट २५ र कर्मचारी दरबन्दी १८ बाट ३९ पु-याउने निर्णय भएको भए पनि दक्ष चिकित्सक हुँदाहुँदै सेवा लिन नपाएको जनाइएको छ।