साउन २३, काठमाडौं — नेपालले एएफसी महिला यू–२० एसियन कप छनोटको दोस्रो खेलमा साउदी अरबलाई १–० गोलले पराजित गर्दै पहिलो जित हात पारेको छ। भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको समूह ‘ए’को खेलमा नेपालको जितको नायक सुक्रिया मियाँ बनिन्।
पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको नेपालले यस जितसँगै दुई खेलमा चार अंक जोड्दै अर्को वर्ष थाइल्याण्डमा हुने मुख्य प्रतियोगितामा पुग्ने सम्भावना कायमै राखेको छ।
खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा सुक्रियाले निर्णायक गोल गर्दै नेपाललाई मूल्यवान तीन अंक दिलाइन्। यस हारसँगै साउदी अरब एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ।
अब नेपालले आइतबार उत्तर कोरियासँग निर्णायक खेल खेल्नेछ।