साउन २३, सर्लाही — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–स्थित बाँके जंगलमा शुक्रबार साँझ बस पल्टिँदा १७ जना यात्रु घाइते भएका छन्।
जनकपुरबाट मलङ्गवातर्फ गइरहेको ग १ ख ९४९४ नम्बरको बस मुसलधारे वर्षाका बीच अनियन्त्रित भई सडकबाट पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिनुभयो।
दुर्घटनामा घाइतेमध्ये १६ जनाको उपचार लालबन्दीस्थित मोडेल अस्पतालमा र एक जनाको नवलपुरमा भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताउनुभयो।
बस सडकबाट करिब एक बल्ड्याङ मात्रै पल्टिएकाले ठूलो क्षति हुनबाट जोगिएको र यात्रु तथा प्रहरीको तत्काल उद्धारका कारण दुर्घटनापछि अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।





