साउन २६, काठमाडौं । यातायात व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन कम गर्न सरकारले नयाँ “सवारी तथा यातायात व्यवस्था ऐन” ल्याउने तयारी गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा मन्त्रिपरिषद् स्वीकृतिका लागि पठाइएको छ। स्वीकृतिपछि संसद्मा पेस गरिनेछ।
नयाँ ऐनमा ३४ प्रकारका ट्राफिक नियम उल्लङ्घनका घटनामा तत्काल कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ। जरिबाना पाँच सयदेखि ५० हजार रुपैयाँसम्म तोकिएको छ भने चोरीका सवारी चलाएमा ५० हजार रुपैयाँ जरिवाना गरिनेछ।
ज्यान मार्ने मनसाय प्रमाणित भएमा सवारी चालकलाई जन्मकैदको व्यवस्था पनि प्रस्ताव गरिएको छ।
मुख्य जरिवाना प्रस्तावहरू
-
राति बत्ती नबाली सवारी चलाएमा – रु २,०००
-
वन–वे सडक उल्लङ्घन – रु १,०००
-
ट्राफिक संकेत उल्लङ्घन – रु १,०००–२,०००
-
निषेधित क्षेत्रमा हर्न बजाएमा – रु ५००
-
फोहोर फालेमा – रु १,०००
-
गतिमा बढी सवारी चलाएमा – रु ५,०००
-
अरूलाई हानि हुने गरी चलाएमा – रु २५,०००
-
ओभरटेक निषेधित क्षेत्रमा – रु २,०००
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मासिक करिब ९० हजार सवारीलाई कारबाही गर्दै आएको जनाएको छ।





