साउन २५, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापाचोक नजिक आइतबार बिहान रेल र कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग क्रसिङ एरियामा ठोक्किएको हो।
दुर्घटनामा कारमा सवार तीन जना सामान्य घाइते भएका छन् भने कारमा ठूलो क्षति पुगेको छ। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार ठक्करपछि ठूलो आवाज आएको थियो।
घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको थियो। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





