Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीजमा पशुपतिनाथ मन्दिरका चार ढोका बिहानैदेखि खुला, भक्तजनका लागि विशेष व्यवस्था

 

भदौ १०, काठमाडौं।

हरितालिका तीजको अवसरमा भक्तजनलाई सहज दर्शन गराउन पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको जनाएको छ।


कोषका निमित्त सदस्य–सचिव सुभासचन्द्र जोशीका अनुसार महिलालाई प्राथमिकता दिँदै दर्शनको विशेष व्यवस्था मिलाइएको हो। भक्तजनलाई सहजताका लागि सुरक्षा, स्वयंसेवक, आकस्मिक स्वास्थ्य सेवा, चन्दन–प्रसाद, जुत्ता–चप्पल राख्ने स्थान, भजन–कीर्तन, दीपावली र गौदानस्थलसहितका व्यवस्थासमेत गरिएको छ।


भीड व्यवस्थापनका लागि भक्तजनलाई मन्दिर प्रवेश गर्न चार बाहिरी लाम तोकिएका छन्।


  • पहिलो लाम गौरीघाट हुँदै उत्तरढोकाबाट प्रवेश गर्ने,

  • दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी मार्ग हुँदै सानो ढोकाबाट प्रवेश गर्ने,

  • तेस्रो लाम पिङ्गलास्थान–पञ्चदेवलमार्ग हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने,

  • चौथो लाम तिलगंगा–राममन्दिर मार्ग हुँदै आर्यघाटतर्फबाट पूर्वढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।


यससँगै मन्दिर भित्र थप आठवटा लामको व्यवस्था गरिएको छ। श्रीयन्त्र पूजाको समयमा भने भक्तजनले जालीमार्फत बाहिरबाटै दर्शन गर्न सक्ने सुविधा रहेको कोषले जनाएको छ।


दर्शनार्थीलाई चन्दन वितरणका लागि पश्चिम मूलढोकाबाहिरको सानोसदावर्त, पञ्चदेवल, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा, गौशाला र जयबागेश्वरीलगायत स्थान तोकिएका छन्।


तेस्रो मुलुकका पर्यटकले टिकट लिएर मन्दिर क्षेत्र (मूल प्राङ्गण बाहेक) अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ। भक्तजनले गर्ने गौदान तथा धार्मिक क्रियाकलापका लागि भकुण्टोल–वनकाली मार्ग आसपास छुट्टै स्थान बनाइएको छ।


कोषले भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन र बालबालिकालाई साथमा नल्याउन अनुरोध गरेको छ। नित्य भक्तजनका लागि बिहान ५ः३० बजेसम्म चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। दर्शनका लागि भने यसपालि कुनै विशेष पासको व्यवस्था गरिएको छैन।

Top Post Ad

post bottom ads

Ads Bottom