फुङलिङ, भदौ ४ – ताप्लेजुङको फुङलिङ नगरपालिका–२ मा सञ्चालित मोटरसाइकल वर्कसपमा आगलागी हुँदा करिब २४ लाख रुपियाँ बराबरको क्षति भएको छ।
पुरानो जिल्ला प्रशासन कार्यालयको माथिल्लो भागमा रहेको ताप्लेजुङ बाइकर्स जोन मा मंगलबार साँझ आगो लाग्दा वर्कसपमा रहेका मोटरसाइकल मर्मत उपकरण, पुराना बाइक तथा पाटपुर्जासहितका सामग्री जलेर नष्ट भएका हुन्। सो वर्कसप आशिषहाङ पालुङ्वाले स्थानीय गोमादेवी गुरुङको घरमा सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार आगोले वर्कसप मात्र नभई घरका ढोका, झ्याल, सटर र भित्तामा समेत क्षति पुर्याएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बाइक मर्मत गर्ने क्रममा पेट्रोलजस्ता प्रज्वलनशील पदार्थबाट आगलागी सुरु भएको जनाइएको छ।
आगलागीपछि फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारी तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।