पाल्पा- सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको भुतखोला क्षेत्रमा करिब २५ मिटर लम्बाईमा सडक भासिएको छ । गत वर्ष मात्रै मर्मत गरिएको सडक पुनः भासिएपछि सवारी आवागमन एकतर्फी भएको छ ।
सडक भासिएको स्थानको तल्लो भागमा तिनाउ खोला रहेको छ । जोखिमका बीच अहिले सवारी साधन एकतर्फी सञ्चालन भइरहेको स्थानीय टंक बस्यालले जानकारी दिनुभयो ।
यस्तै वर्षासँगै पाल्पाको दोभान कालीरहमा पनि ५० मिटर बढी सडक भासिएको छ । वर्षौदेखि सडक भाँसिदै गए पनि यसको रोकथामको काम हुन नसक्दा सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचलका दर्जन बढी गाउँ जाने सडक भासिएको हो ।
सडक भासिएको र पानी परेको हुँदा जुनसुकै बेला सडक पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको हो । पानी पर्नासाथ सडक सञ्चालनमै समस्या हुने तिनाउ गाउँपालिका–२, दोभानका स्थानीय राजेश श्रेष्ठले बताउनुभयो ।
दश वर्षदेखि प्रत्येक वर्ष कचल खोलाले कटान गर्ने हुँदा सडक भासिदै आएको उहाँले बताउनुभयो । सडकको तल्लो भागमा भासिदै गएको र माथिल्लो जंगल क्षेत्रमा सडक बनाएर हिउँदमा सवारी साधन संचालन हुँदै आएको छ ।
पाँच वर्षअघि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले ३० लाख खर्चेर तटबन्धको काम गरेको थियो । खोलामा समितिले स्पर निर्माण गरेको थियो । स्पर खोलाले बगाएकाले उत्तरतर्फ कटान गरेपछि सडक भासिने क्रम नरोकिएको स्थानीयले बताएका छन् ।
यो सडक भएर दोभानको खुर्साने, कचलको ओखलढुंगा, आर्खुदी, कचल फाँच, पााच्चोटे, हात्तीमारा, देउबारी, ओर्लोफान, सिउाडीखर्क, चीलपोखरी, कुरकुर, जरायो पोखरी लगायतका गाउँका बासिन्दालाई सवारी साधन संचालन नहुँदा समस्या पर्छ । यो क्षेत्रबाट दैनिक रुपमा व्यपारीक क्षेत्र बुटवलमा दैनिक दर्जनबढी भाडाका सवारी संचालन हुने गर्दछ ।