Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वर्षौंदेखि छोराको प्रतीक्षामा बाटो कुर्दै भुजीदेवी

 

बझाङ, भदौ २ – उमेरले सय पार गरेकी जयपृथ्वी नगरपालिका–७ सुवेडाकी भुजीदेवी जैसी अझै पनि छोराको पर्खाइमै दिन गन्दै हुनुहुन्छ। जीवनको उत्तरार्धमा पुगेकी उहाँको आँखा छोराको बाटोतिर नै अडिएको छ।

२०५० साल माघ महिनामा आफ्नी भान्जीको उपचारका लागि भारत गएका ३२ वर्षीय गणेशराज जोशी नयाँ दिल्लीको तिलक नगरबाट हराएपछि तीन दशकभन्दा बढी बितिसक्दा पनि आजसम्म उनको कुनै अत्तोपत्तो छैन।

त्यतिबेला सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी पास गरी कक्षा ११ मा पढ्दै गरेका गणेशराज जीवनको नयाँ यात्रामा थिए। तर अचानक उनको यात्रा यतै रोकिन पुग्यो।

छोरालाई खोज्दै भुजीदेवी धेरैपटक भारत पुग्नुभयो। दिल्लीका गल्ली–गल्ली धाउँदै प्रहरीसम्म सहयोग माग्नुभयो, तर न छोराको अंशु भेटियो न त अत्तोपत्तो।

“कसैले कतै लगेर राखेको होला वा भारतमै कतै बसिरहेका होलान्,” भुजीदेवी अझै पनि आशा राखेर भन्नुहुन्छ, “मेरो छोरा एकदिन घर फर्कन्छ।”

हाल सुवेडास्थित बेलरुखमा बस्दै आएकी उहाँ छोरी दुर्गादेवी जोशी र नातिनातिनीको सहारामा जीवन बिताइरहनुभएको छ।

३२ वर्षको लामो समयले देशमा धेरै परिवर्तन ल्यायो। राजनीतिक व्यवस्था फेरियो, पुस्ता बदलियो, समाज आधुनिक भयो। तर भुजीदेवीको मन भने अझै पनि छोराको पर्खाइमै छ। उहाँको जीवनको अन्तिम चाहना केवल एक हो– छोरालाई फर्केको देख्ने, अथवा अन्तिम पटक अनुहार हेर्ने।

गाउँका धामी–झाँक्रीदेखि पण्डित र ज्योतिषी सबैले एउटै कुरा भनेका छन् – गणेशराज अझै जीवित छन् र कहिल्यै न कहिल्यै घर फर्कनेछन्। यही विश्वासका आधारमा भुजीदेवी अझै पनि छोराको बाटो हेरिरहनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom