आफन्त फर्किने आशामा बिते १९ वर्ष
गुलरिया (बर्दिया), भदौ १४
नेपालमा सशस्त्र जनयुद्ध अन्त्य भएको १९ वर्ष बितिसक्दा पनि द्वन्द्वकालीन बेपत्ता नागरिकको पीडा अझै अन्त्य हुन सकेको छैन।
बर्दियामा मात्रै करिब २५० जना नागरिक बेपत्ता छन्। २०५९ साउनमा बारबर्दियाका टटेराम थारूसहित छ जनालाई सेनाले घरमै पसेर लगेको र अहिलेसम्म पनि नफर्किएको परिवारजनले स्मरण गरेका छन्। सोही वर्ष कात्तिकमा राजापुरको मानपुर माध्यमिक विद्यालयबाट १४ जना एकैपटक बेपत्ता बनाइएको घटनाले अझै पनि स्थानीयलाई पीडित बनाइरहेको छ।
“अब हामीलाई कि त सास चाहियो, कि त लास,” राजापुर द्वन्द्वपीडित समिति अध्यक्ष लौटन थारूको भनाइ छ। धेरै परिवारले अनिश्चित प्रतीक्षाबाट थाक्दै अन्ततः काजकिरिया गर्नुपरेको छ।
द्वन्द्वमा बर्दियामा ३२८ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। अहिलेसम्म ५० भन्दा बढी परिवारले मृत्यु संस्कार गरिसकेका छन्। तर अझै धेरै आफन्त बेपत्ताकै सूचीमा छन् र परिवारजन पीडामा बाँचिरहेका छन्।





