Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कर्णाली बैंक घोटाला : वडाध्यक्ष र चिकित्सकसहित १०३ जना फरार

नेपालगन्ज, साउन २२।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा भएको बहु-अर्बको बैंकिङ्ग घोटालामा वडाध्यक्ष, चिकित्सक, बैंकका उच्च पदस्थ कर्मचारी, राजनीतिक दलका नेता, लेखापरीक्षकसहित १०३ जना फरार रहेको पाइएको छ। नेपालगन्जमा मुख्यालय रहेको उक्त बैंकमा अनियमितता भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुसन्धानमा आधारित रहेर बाँके जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर, नेपालगन्जस्थित वाणिज्य इजलासमा साउन १४ गते १०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

पक्राउ ४, मृत्यु २, फरार १०३

उक्त मुद्दामा हालसम्म तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्रा, र वित्त प्रमुख बेदप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् भने राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई अदालतले दुई लाख धरौटीमा रिहा गरेको छ। बाँकी १०३ जना भने फरार छन्। मृत्यु भएकामा राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापा र कर्णाली बैंकका पूर्वकर्मी धनन्जय कश्यप रहेका छन्।

३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी

अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार फरार १०३ प्रतिवादीलाई पक्राउ गर्नका लागि ३५ दिने म्यादसहितको पक्राउ पुर्जी जारी गर्ने आदेश अदालतले दिएको छ। आदेश न्यायाधीश चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त इजलासबाट भएको हो। विष्टका अनुसार पूर्जी जारी प्रक्रिया एक–दुई दिनमै टुंग्याइनेछ।

कस–कस छन् फरार सूचीमा?

फरार व्यक्तिहरूमा बैंकका तत्कालीन अध्यक्ष डा. ओमप्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह, विष्णुप्रसाद कक्षपति, नेपालगन्ज शाखा प्रमुख दीपा थापा लगायत छन्।

यसैगरी, डुडुवा गाउँपालिका–६ का वर्तमान वडाध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा. उषा राणा शाह, राजनीतिक नेता ओमप्रकाश आजाद र ओमप्रताप राणा पनि फरार सूचीमा परेका छन्।

लेखापरीक्षकहरू विनमकुमार श्रेष्ठ, भुवनप्रसाद गैरे, तुलाराम कुर्मी, केशवप्रसाद न्यौपाने र सुरेशचन्द्र श्रेष्ठको नामसमेत फरार प्रतिवादी सूचीमा समावेश छ।

तीन अर्बभन्दा बढीको बिगो

उक्त बैंक घोटालामा तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रूपैयाँ तीन पैसा बिगो कायम गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठन गरिएको व्यवस्थापन समूहतर्फबाट अख्तियार प्राप्त सदस्य उपनिर्देशक जुगलकिशोर कुशवाहद्वारा मुद्दा दायर गरिएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom