Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीकृष्ण जन्माष्टमी आज: देशभर पूजाआराधना, भजन–कीर्तन र जाग्राम


साउन ३१, पोखरा । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा शनिबार ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै छ। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्म लिनुभएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनेर चिनिन्छ।


ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्ण विष्णुको आठौँ अवतारका रूपमा अन्याय, अत्याचार र दानवी प्रवृत्तिको अन्त्यका लागि अवतरित हुनुभएको विश्वास गरिन्छ। कुरुक्षेत्र युद्धका क्रममा अर्जुनलाई उपदेश दिँदै श्रीकृष्णले व्यक्त गर्नुभएको ‘श्रीमद्भागवद्गीता’लाई आज पनि विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद गरिएको पवित्र ग्रन्थ मानिन्छ।


यस पर्वमा देशभरका कृष्ण मन्दिरमा पूजाआराधना, प्रवचन, भजन–कीर्तन, व्रत बस्ने तथा जाग्राम बस्ने परम्परा रहिआएको छ। भक्तजन बिहानैदेखि नजिकका कृष्ण मन्दिर पुगेर दर्शन गर्ने गर्छन्।


राजधानीको पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक कृष्ण मन्दिरमा आज ठूलो मेला लाग्नेछ। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) मन्दिरलगायत राजधानीका विभिन्न कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने परम्परा रहेको छ।


धार्मिक–सांस्कृतिक वातावरणमा मनाइने यस पर्वमा विशेष गरी महिलाले व्रत बस्ने, पुरुषले भजन–कीर्तनमा सहभागी हुने, र सबैले सत्य, धर्म र सत्कर्मप्रति प्रतिबद्धता जनाउने गरिन्छ।


Top Post Ad

post bottom ads

Ads Bottom