इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार बिरामी हुनेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मञ्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा रहेका छन्।
जसमध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर रहेकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाउने तयारी गरिएको चौदण्डीगढी–९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिनुभयो। बाँकी पाँच जनाको उपचार नगर अस्पताल बेल्टारमै भइरहेको छ।
वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता राउतका अनुसार मङ्गलबार बिहान सदा परिवारले घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर तरकारी बनाएर खाएका थिए। तर केही समयमै बान्ता सुरु भएपछि उनीहरूलाई अस्पताल पुर्याइएको हो।
आर्थिक अवस्था कमजोर रहेकाले चौदण्डीगढी नगरपालिकाले सदा परिवारको निःशुल्क उपचारको व्यवस्था मिलाएको पनि अध्यक्ष राउतले बताउनुभयो।