फिदिम बजारका कमल घिमिरेको नाममा दर्ता रहेको प्र. १–०३–००१ प–०७११ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल साउन १६ गते राति डिभिजन वन कार्यालयको गेट अगाडि पार्किङमा राखिएको स्थानबाट हराएको थियो। पीडितले जाहेरी दिएपछि लामो खोजीपछि प्रहरीले मोटरसाइकल फेला पारेको हो।
अनुसन्धानका क्रममा प्रहरीले २२० सिसी क्षमताका ८८ वटा पल्सर मोटरसाइकललाई प्रत्यक्ष निगरानीमा राखेको थियो। सिसी क्यामेरा फुटेजका आधारमा शङ्कास्पद व्यक्तिहरूको खोजी भइरहेका बेला, वैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका फिदिम–४ का करण मगरको संलग्नता मोटरसाइकल चोरीमा पनि रहेको प्रमाण भेटिएको थियो। त्यसपछि प्रहरीले हिलिहाङ गाउँपालिका–७ का सन्दीप लावतीलाई पक्राउ गर्यो।
दुवैले मोटरसाइकल चोरी गरी तमोर करिडोर हुँदै नाँवा खोलाको झोलुङ्गे पुल पार गर्ने क्रममा बिग्रिएपछि बाटोमै छोडेको बयान दिएका थिए। तर घटनास्थलमा मोटरसाइकल नपाएपछि स्थानीय सूचनाका आधारमा खोजी गर्दा, धनकुटा चौबिसेका कुमार तामाङले उक्त बिग्रिएको मोटरसाइकल चोरी गरी तेह्रथुमस्थित आफ्नो मामाघरमा लुकाएको अवस्थामा फेला परेको हो।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर मोटरसाइकलसहित फिदिम ल्याएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार घटनामा संलग्न सबैको पहिचान भइसकेकाले मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।