पोखरा–१५, नयाँगाउँमा अवस्थित मेरिगोल्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालय, पोखरामा खुला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। विद्यालय परिसरमै सम्पन्न उक्त प्रतियोगितामा आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
आधारभूत तहतर्फ प्रथम स्थान अलिस थापाले र द्वितीय स्थान ओनिक गुरुङले हासिल गरे भने माध्यमिक तहतर्फ प्रथम स्थान रिवाज छेत्री र द्वितीय स्थान डेभिड खड्का मगरले प्राप्त गरे।
कार्यक्रमका प्रमुख वक्ता विद्यालयकी प्राचार्य शर्मिला गुरुङले यस्ता प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता, एकाग्रता र सिर्जनशीलतालाई अभिवृद्धि गर्ने बताउँदै निरन्तर अभ्यासको आवश्यकता औंल्याउनु भयो । सोही अवसरमा संस्थापक प्राचार्य मोतिराम गुरुङले विद्यार्थीहरूको सक्रियता र उपलब्धिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै विद्यालय प्रशासनले यस्ता गतिविधिहरू निरन्तर आयोजना गरिने जनाएको छ।





