भदौ २९ गते । जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये १०९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी अशोक थापाका अनुसार पक्राउ परेकामध्ये ६८ जना पुरुष कैदी, ३२ जना पुरुष थुनुवा र नौ जना महिला कैदी रहेका छन् । बाँकी फरारको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
कारागारका जेलर टेकप्रसाद भट्टराईका अनुसार फरार कैदीबन्दीलाई सुरक्षित रूपमा फिर्ता ल्याउन परिवार र आफन्तसँग सम्पर्कमा रहन आग्रह गरिएको छ । कारागार प्रशासनले आवश्यक सम्पर्कका लागि आफन्तहरूले सिधै कारागारसँग सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ ।
गत मङ्गलबार दिउँसो जेनजी आन्दोलन चर्किँदा तनहुँ जिल्लाका प्रशासनिक कार्यालयहरूमा आगजनी र तोडफोडसँगै कारागार परिसर पनि निशानामा परेको थियो । त्यसक्रममा ३०७ पुरुष र २० महिला गरी ३२७ जना कैदीबन्दी फरार भएका थिए ।
फरारमध्ये केही सामान्य मुद्दामा कैद सजाय भुक्तान गर्दै थिए भने धेरैजसो गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए । प्रशासनले फिर्ता र सुरक्षाका लागि सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ । साथै, कारागार प्रशासन कार्यालयमा भएको क्षतिको व्यवस्थापन कार्य पनि भइरहेको छ ।


.png)

