मंगलबार दिउँसो जेनजी पुस्ताको आन्दोलनकारीहरूले राष्ट्रपति निवास, शीतल निवासमा प्रवेश गरेका छन्। राज्यसत्ताको केन्द्रीय हेडक्वाटरका विभिन्न कार्यालयमा आगजनी र तोडफोड गर्ने क्रममा उनीहरूले राष्ट्रपति निवाससम्म प्रवेश गरेको पुष्टि भएको छ।
यसअघि दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पनि मुलुकभर फैलिएको आन्दोलन भने रोकिएको छैन। विभिन्न शहरमा प्रदर्शन, तोडफोड र आगजनी जारी रहेका छन्।
पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, गृह सचिवसहितका सुरक्षा निकायका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमार्फत उनीहरूले नागरिकलाई संयमित रहन र आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गरेका छन्।
राजनीतिक वृत्तमा अहिलेको परिस्थितिलाई "गंभीर मोड" का रूपमा लिइएको छ भने आगामी सत्ता समीकरणबारे पनि बहस सुरु भएको छ।