असोज २, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बस बिग्रिएर सडक छेउमा रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक योगराज खतिवडाका अनुसार घाइतेमध्ये एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भयो भने अर्का एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारकै क्रममा ज्यान गएको हो। दुवै मृतकको सनाखत हुन बाँकी छ।
घाइतेहरूलाई भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।