असोज १२ गते । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौँस्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ दोखु बस्ने २७ वर्षीय ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा रहेका छन् । जबरजस्ती करणी मुद्दामा आठ वर्ष छ महिनाको कैद सजाय तोकिएका उनी आन्दोलनका बीच कारागारबाट भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार पालुङ्वालाई शनिबार फुङ्लिङ नगरपालिका–६ स्थित साथीको घरमा लुकिरहेका बेला पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार पालुङ्वाले तोकिएको सजायमध्ये पाँच वर्ष पूरा गरिसकेका छन् । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि कारागारमा पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




