बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएकाको पहिचान र उपचार व्यवस्थापनका लागि गृह मन्त्रालयमार्फत परिचयपत्र उपलब्ध गराउने, स्वास्थ्य मन्त्रालयले पुनःउपचारका लागि तोकिएका अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ। पुनःउपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत सुविधा उपलब्ध गराइने र सहजीकरणका लागि स्वास्थ्य मन्त्रालयले हटलाइन तथा सम्पर्क व्यक्ति तोक्ने व्यवस्था गर्ने निर्णय भएको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले मुग्लिन–पोखरा सडक विस्तारका क्रममा चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म, मुग्लिन बजार पारी गोरखातर्फ हुँदै मस्र्याङ्दी विद्युतगृहको विपरीत गोरखा तर्फ समानान्तर नयाँ सडक ३० मिटर मापदण्डसहित रेखाङ्कन गर्ने स्वीकृति दिएको छ।
बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई सहभागी गराउने निर्णय गरेको छ।
यस्तै, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।




