काठमाडौं, भदौ २४ ।
हिजोदेखि काठमाडौं उपत्यका सहित मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ। प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार र सुरक्षा निकायहरूले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा सरकार र सुरक्षा निकायका शीर्ष पदाधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै थप जनधनको क्षति हुन नदिन सबै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। उनीहरूले राजनीतिक संवाद र सहमतिमार्फत समस्याको छिटो समाधान खोज्न पनि सबै सरोकारवालासँग अपिल गरेका छन्।
मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृह सचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सरकार शान्ति–सुरक्षा र स्थिरताप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।


.png)


