काठमाडौं, असोज १३ गते । जेनजी आन्दोलनमा घाइते भएका थप एक आन्दोलनकारीको मृत्यु भएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका ३६ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।
२४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेका राईलाई बालाजुबाट उद्धार गरी त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । प्रहरीले जनाएअनुसार उपचारका क्रममा आज बिहान पौने २ बजे उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले राईको निधन भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यससँगै जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । मृतकमध्ये १० जना कैदीबन्दी रहेको प्रहरीले जनाएको छ ।


.png)

