Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द, संचार प्रणाली पूर्ण ठप्प


एजेन्सी ,

काबुल, असोज १४ गते । तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क काटेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवाविहीन अवस्थामा बिताएको छ ।

इन्टरनेट वाचडग संस्था नेटब्लक्सका अनुसार सोमबार रातिसम्म मोबाइल सिग्नल र इन्टरनेट सेवा क्रमशः कमजोर हुँदै गएर सामान्य स्तरको एक प्रतिशतभन्दा तल झरेको थियो । सन् २०२१ मा तालिबान सत्तामा आएपछि देशव्यापी रूपमा यति ठूलो सञ्चार अवरोध पहिलोपटक भएको हो ।

काबुलका एक पसल मालिक नजीबुल्लाहले भन्नुभयो, “हामी फोन र इन्टरनेट बिना अन्धा झैँ छौँ । हाम्रो व्यवसाय मोबाइलमै निर्भर छ । अहिले बजार पूर्ण रूपमा बन्द झैँ छ ।”

एक सरकारी अधिकारीका अनुसार फाइबर अप्टिक काटिँदा आठदेखि नौ हजार दूरसञ्चार स्तम्भहरू बन्द हुनेछन् र ब्ल्याकआउट अर्को सूचना नभएसम्म जारी रहनेछ । यसले बैंकिङ, भन्सारदेखि सम्पूर्ण प्रशासनिक काम ठप्प बनाएको छ ।

एएफपीले सोमबार साँझ काबुलस्थित आफ्ना संवाददातासँग सम्पर्क गुमाएको जनाएको छ । विदेशमा रहेका अफगानीहरूले पनि परिवारसँग पूर्ण सम्पर्क टुटेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गत सेप्टेम्बरमा तालिबान नेताको आदेशअनुसार बल्ख, बदख्सान, तखरदेखि कान्दाहार, हेलमन्ड, नङ्गरहार र उरुजगानसम्म इन्टरनेट प्रतिबन्ध लगाइएको थियो । तालिबान प्रवक्ता अत्ताउल्लाह जैदले सामाजिक सञ्जालमार्फत “दुराचार रोक्न यो कदम चालिएको भए पनि आवश्यक कनेक्टिभिटीका लागि वैकल्पिक विकल्प उपलब्ध गराइनेछ” भनेका थिए ।

सन् २०२४ मा तत्कालीन काबुल सरकारले ९ हजार ३५० किलोमिटर लामो फाइबर अप्टिक नेटवर्कलाई राष्ट्रिय प्राथमिकतामा राखेको थियो, जसलाई अघिल्ला अमेरिकी समर्थित सरकारले निर्माण गरेका थिए । यसले अफगानिस्तानलाई विश्वसँग नजिक ल्याउने र गरिबी घटाउने आशा गरिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom