चितवन, भदौ ३१ गते । नारायणगढ–मुग्लिन सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मङ्गलबार साँझ तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुगेको बेला माथिबाट खसेको ढुङ्गा बसमा लाग्दा दुर्घटना भएको हो ।
सो घटनामा लमजुङको दोर्दी गाउँपालिका–८, घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।






